नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
विन्दा पाण्डे
संविधानसभा सदस्य, नेपाल कम्युनिस्ट पार्टी, एमाले ।
जिफन्ट : सदस्य, केन्द्रीय योजना आयोग
जन्म : २०२३ साल पुस १५ गते, खानीगाउँ गाविस, नुवाकोट ।
नुवाकोटको रावलस्वारास्थित खानीगाउँमा जम्मनुभएकी विन्दा पाण्डे आफ्नो आमाबुबाको ११ औं सन्तानमध्ये कान्छी हुनुहुन्छ । उहाँका दाजुहरू परम्परागत हिन्दु धार्मिक विद्यालय गुरुकुलमा पढ्न जानुहुन्थ्यो । छोरीलाई पढाउने चलन नभएकाले उहाँका ६ जना दिदी भने विद्यालय जानबाट वञ्चित हुनुभयो । तर आफ्नी आमाको व्यक्तिगत प्रयासका कारण उहाँले त्यो अवसर पाउनुभयो । जसका कारण उहाँ आफूलाई आफ्ना दिदीहरूभन्दा निकै भाग्यमानी ठान्नुहुन्छ ।
पढाइप्रतिको आफ्नो लगाब, आमाबुबाको साथ र राजनीतिमा लाग्नका लागि विद्यार्थी संगठनसँगको आबद्धताले गर्दा विन्दाले आफ्नो पढाइलाई निरन्तरता दिन सक्नुभयो । यसको प्रतिफल स्वरूप उहाँले वनस्पतिशास्त्रका साथै जेण्डर र विकास गरी दुई विषयमा स्नातकोत्तर पूरा गर्नुभयो भने शिक्षा र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।
विद्यार्थी जीवनमा आफू सहभागी हुने गरेको र्यालीले नै विन्दालाई विद्यार्थी राजनीतिमा संलग्न गराउन निर्णायक भूमिका निभायो । २०३७ साल चैत १४ गतेका दिन भएको आम हडतालमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध उहाँका विद्यालयका विद्यार्थीले एउटा र्यालीको आयोजना गरेका थिए । उक्त र्यालीमा केही दिनअगाडि काठमाडौंबाट पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइको माग राखेका थिए । पक्राउ पर्नेमध्ये विन्दाको कान्छो दाजु पनि हुनुहुन्थ्यो । त्यसैले विन्दाले पनि पञ्चायतविरुद्धको नारा लगाउँदै र्यालीको अग्रपंक्तिमा सहभागिता जनाउनुभयो । घर फर्किएपछि उहाँले आफ्नो बुबाको गाली खानुपर्यो । त्यस्तै अब उपरान्त त्यस्ता कुनै पनि कार्यक्रममा सहभागी नहुनु भन्ने चेतावनी पनि उहाँलाई बुबाले दिनुभयो । तर बुबाको गाली र चेतावनीले उहाँ कति पनि विचलित हुनुभएन, बरु उल्टै उक्त र्यालीको अनुभव उहाँका लागि एउटा दह्रो प्रेरणा बन्न पुग्यो ।
सन्तानलाई राम्रो शिक्षा दिने आफ्नो आमाको इच्छाले पनि विन्दालाई अगाडि बढ्न मद्दत पुर्यायो । हुन त उहाँकी आमाले विद्यालय गएर औपचारिक शिक्षा हासिल गर्ने अवसर पाउनु भएन । तैपनि आफ्ना छोराहरूले गृहकार्य गरिरहेको बेलामा उनीहरूको अगाडि बसेर उहाँले पढ्न लेख्न सिक्नुभयो । आफ्नो यही स्वअध्ययनले विन्दाको आमालाई किताब पढ्न सक्नेसमेत बनायो । धार्मिक ग्रन्थहरूमा उहाँको विशेष रुचि रहेको थियो । त्यस्तै आमाको सामाजिक क्रियाकलापमा रहेको सक्रियताले पनि विन्दालाई अरूको बारेमा सोच्न प्रेरित गरेको थियो । छिमेकमा रहेका महिलाबीच कुनै समस्या पर्दा उहाँ मध्यस्थताको भूमिका निर्वाह गर्नुहुन्थ्यो । त्यसैगरी परम्परागत चुल्हो निर्माणमा होस् वा गाउँमा कसैलाई सुत्केरी गराउनु परे या कुनै धार्मिक अनुष्ठान पूरा गर्न उहाँले नै छिमेकीलाई सहयोग गर्नुहुन्थ्यो । यसैका कारण उहाँ आफ्नो परिवार र समाजमा सामाजिक न्यायको प्रतीकका रूपमा चिनिनुहुन्थ्यो ।
वि.सं. २०३७ मा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विन्दाको समूहले जितेको थियो । यसको केही महिनापश्चात् भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को जिल्लास्तरीय सम्मेलनमा उहाँ कोषाध्यक्षका रूपमा निर्वाचित हुनुभयो । तर पछि गएर उहाँको साथीहरू र स्कुलका प्रधानाध्यापकबीच विवाद चर्किएपछि विन्दाले १० कक्षामै आफ्नो विद्यालय छाड्नुभयो । त्यसपछि काठमाडौँ आई कान्तिर् इश्वरी माध्यामिक विद्यालयमा भर्ना भई उहाँले आफ्नो पढाइलाई निरन्तरता दिनुभयो । गाउँको विद्यालयमा पढेर आउनुभएकी विन्दालाई काठमाडौँको पढाइ निकै गाह्रो लाग्यो । जसले गर्दा उहाँलाई आफ्नै कक्षाका साथीहरूसँग प्रतिस्पर्धा गर्न पनि हम्मेहम्मे पर्यो । तर अर्कोतर्फगाईबस्तु चराउने, तिनलाई पानी खुवाउने, घाँस काट्न जानेलगायतका घरायसी कामकाज गर्न नपरेकाले उहाँले पढाइलाई प्रशस्तै समय दिन पाउनुभयो ।
गाउँको स्कुलमा पढेकाले उहाँको अंग्रेजी पनि कमजोर थियो । तैपनि उहाँले आफ्नो उच्च शिक्षाको विषय विज्ञान रोज्नुभयो । क्याम्पसको पहिलो परीक्षामा उहाँ प्रायः विषयमा अनुत्तरीणा हुनुभयो । तर उहाँले हिम्मत हार्नु भएन । जुनसुकै तरिकाले भए पनि पढाइलाई अगाडि बढाउने प्रतिबद्धता उहाँले गर्नुभयो । फलस्वरूप 'टयुसन' बिना नै सबै विषयलाई पार लगाउनुभएकी विन्दा आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ- "दह्रो प्रतिबद्धता र कडा मेहनतले जस्तोसुकै कठिन कार्यलाई पनि सम्भव बनाउन सकिँदो रहेछ भन्ने ठूलो पाठ मैले त्यतिबेला सिकेँ ।"
वि.सं. २०४६ सालको जनआन्दोलन चर्किएको बेलामा विन्दा अनेरास्ववियुको केन्द्रीयस्तरको नेता भइसक्नुभएको थियो । उक्त आन्दोलनभर उहाँले भूमिगत रहेका विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी र विद्यार्थी संगठनबीच टेलिफोन सर्म्पर्क गराउने काममा महत्वपर्ण भूमिका निभाउनुभयो । यही कारणले गर्दा पञ्चायत प्रशासनले जारी गरेको पक्राउ सूचीमा उहाँको नाम पनि परेको थियो । तर विन्दा जसोतसो पक्राउ पर्नबाट जोगिनुभयो । बहुदलीय प्रजातन्त्रकोपुनर्स्थापनापश्चात् उहाँ अर्को एक वर्षम्म अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्यकै रूपमा रहनुभयो । वि.सं. २०४८ मा विन्दाले विद्यार्थी राजनीतिलाई छाडेर अखिल नेपाल महिला संघ (अनेमसंघ) मार्फ महिला आन्दोलनमा लाग्नुभयो । अनेमसंघ नेकपा (एमाले) सम्बन्धित संस्था हो । उहाँ संघको कोषाध्यक्षमा निर्वाचित हुनुभयो । पार्टी अनेमसंघलाई सम्पर्ण अधिकारकर्मी महिलाको छाता संगठन बनाउने प्रयास गरिरहेका बेलामा विन्दालाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को केन्द्रीय महिला विभागअर्न्तर्गत सम्पुर्ण श्रमिक महिलालाई संगठित पार्ने जिम्मेवारी आइलाग्यो । यही क्रममा उहाँ उक्त विभागको सचिव भई २०५७ सालसम्म सोही जिम्मेवारीलाई सफलतार्पुवक सम्हाल्नुभयो ।
टे्रड युनियन आन्दोलनमा सक्रिय रहने क्रममा उहाँले कमिटी फर एसियन वमेन (क) मा जिफन्टको प्रतिनिधित्व गरेर जाने मौका पाउनुभयो । उक्त कमिटीमा १३ वटा एसियाली राष्ट्रका श्रमिक महिलाहरू आबद्ध थिए । वि.सं. २०५० देखि २०५४ सालसम्म उहाँले सोही संस्थाको कार्यक्रम संयोजकका रूपमा हङकङमा बिताउनुभयो । संस्थामा काम गर्दै जाँदा उहाँले विभिन्न एसियाली राष्ट्रमा भएका महिला अधिकारका आन्दोलनका बारेमा बुझने मौका पाउनुभयो । यही क्रममा उहाँले आफ्नो अनुमानभन्दा नितान्त भिन्न अनुभव बटुल्नुभयो । नेपाल मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता मुस्लिम राष्ट्रको तुलनामा भारतको महिला आन्दोलन बढी सक्रिय रहेको उहाँले पाउनुभयो । नेपालको महिला आन्दोलन कमजोर भएकै कारणले उहाँले जेण्डर समानता र महिला अधिकारको आन्दोलनलाई अगाडि बढाउने निर्णयगर्नुभयो । विभिन्न देशको भ्रमणपछि विन्दा यो निक्र्यौलमा पुग्नुभयो कि नेपालमात्रै नभई जापान र कोरियाजस्तो विकसित राष्ट्रमा पनि समाजमा पितृसत्तात्मक सोच यथावत् रहेको छ । जसले गर्दा त्यहाँका महिला पनि समाज अधिकारबाट वञ्चित हुन पुगेका छन् । चीनमा महिलको अवस्था हेरेपछि भने कम्युनिस्ट आन्दोलनले मात्रै महिला मुक्ति सम्भव भएको निष्कर्षा आफू पुगको उहाँ यसरी बताउनुहुन्छ- "श्रमिक वर्ग र महिलाको मुक्ति वर्गीय संर्घष र महिला आन्दोलन एकआपसमा मिलेर अगाडि बढ्नु नै मार्क्सवादमा महिलावादलाई जनाउँछ । विदेशमा सँगालेको यही अनुभवले उहाँंलाई आफ्नो दृष्टिकोणलाई फराकिलो पार्नुका साथै आफ्नो जीवनको लक्ष्य निर्धारण गर्न पनि सहयोग पुर्यायो ।
वि.सं. २०५४ भदौमा हङकङबाट फर्किएपछि उहाँले केन्द्रीय महिला श्रमिक विभागमा सचिवका रूपमा रहेको आफ्नो भूमिकालाई निरन्तरता दिनुभयो । यसका साथसाथै विदेश विभागको सचिव र शिक्षा विभागको सदस्यको थप जिम्मेवारी पनि उहाँमाथि आइलाग्यो । यसको तीन वर्षश्चात् भएको जिफन्टको तेस्रो महाधिवेशनमा उहाँ शिक्षा विभाग प्रमुखमा निर्वाचित हुनुभयो ।
यसरी आफ्नो काममा सक्रिय रहने क्रममा २०६० सालदेखि २०६५सम्म उहाँ जिफन्टको उपमहासचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । आर्थिक समुन्नतिले मात्रै महिला विकास सम्भव नहुने र यसका लागि शिक्षा, महिला अधिकारसम्बन्धी जनचेतना र समाजिक संघसंस्थाको भूमिका र जिम्मेवारीलाई पनि प्राथमिकता दिइनुपर्ने कुरा उहाँ आफूले विभिन्न देशको भ्रमणबाट सिकेको बताउनुहुन्छ । यसबारेमा आफ्नो अनुभव सुनाउँदै विन्दा भन्नुहुन्छ- "महिला मुक्तिका लागि पितृसत्तात्मक व्यवस्था नै निर्मूल हुनुपर्छ ।" भ्रमणका क्रममा उहाँले केही महिला अधिकारकर्मी र महिला आन्दोलनकारीसँग संगत गर्ने मौका पाउनुभयो । जसले उहाँलाई महिला र मार्क्सबादबीचको सम्बन्ध बुझन पनि मद्दत पुर्यायो । <
स्वदेश र विदेशका श्रमिक र महिला अधिकारकर्मीमाझ रहेर काम गरिसकेपछि विन्दाले आफ्नो शैक्षिक ज्ञानलाई अझै फराकिलो पार्नुपर्ने महसुस गर्नुभयो । त्यसैले २०५८ सालमा बैंककस्थित एसियन इन्सिटच्युट अफ टेक्नोलोजिमा जेण्डर र विकास विषयको स्नातकोत्तर सुरु गर्नुभयो । पढाइ पूरा भएपछि महिलाका मुद्दालाई राजनीतिसँग नजोडिकन नेपालमा महिला मुक्ति सम्भव छैन भन्ने निष्कर्षा उहाँ पुग्नुभयो । त्यसैले उहाँ पार्टर्तिरचनासँग नजिकिएर काम गर्न थाल्नुभयो । लामो संर्घषपछि विन्दाले नेकपा (एमाले) को केन्द्रीय महिला विभागमा आफ्नो स्थान सुरक्षित गर्नुभयो र २०६१सालदेखि २०६५सालसम्म उहाँ सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । हाल उहाँ पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ । आफ्नो पार्टी महिला विभाग स्थापना भएपछि त्यसमार्फ महिलाको मुद्दालाई अघि र्सार्न सजिलो भएको उहाँ गर्वसाथ सुनाउनुहुन्छ । संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता, विभेदपर्ण कानुनको अन्त्य, आमाको नामबाट नागरिकता र महिला हिंसाविरुद्धको कानुन निर्माणजस्ता नेपालमा महिला अधिकारका क्षेत्रमा थुप्रै उपलब्धिहरू पनि यसपश्चात् हासिल भएको उहाँ दाबी गर्नुहुन्छ । "नेकपा (एमाले) ले नै यी सबै विधयेक संसद्मा प्रस्ताव गरेको हो ।" उहाँ अगाडि भन्नुहुन्छ- "यही कारणले गर्दा र्सार्क क्षेत्रमा नै संसद्मा नेपाली महिलाको प्रतिनिधित्व बढी छ ।"
यसको साथसाथै राष्ट्रिय महिला आयोगमा रहेको उहाँको योगदान पनि उल्लेखनीय छ । बैंककमा आफ्नो अध्ययन पूरा गर्न लाग्दा उहाँ आयोगको सदस्यमा मनोनीत हुनुभएको थियो । वि.सं. २०५८ देखि २०६० सालसम्म आयोगमा रहँदा उहाँले त्यहाँका विधयेक निर्माणका साथै संविधानको लैंगिक विश्लेषण र लैंगिक विषयमा सुझाव तयार पार्ने काम गर्नुभयो ।
संविधानसभाको निर्वाचनमा उहाँ नेकपा (एमाले) का तर्फाट समानुपातिकतर्फनिर्वाचित भई संविधानसभा सदस्य बन्नु भएको हो । सभामा पनि उहाँको क्रियाकलाप पार्टी निर्देशनमा मात्रै सीमित रहेन । सभाका अन्य महिला नेताहरूसँग मिलेर उहाँले राष्ट्रप्रमुखलाई राष्ट्रपति भनेर सम्बोधन गरिने बिषयमा विरोध जनाउनुभएको थियो । उहाँको यही समूहले राष्ट्रपतिको सट्टा राष्ट्राध्यक्ष भन्ने शब्द प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन ।
संविधानसभामा रहेका महिला सभासद्को दबाबमा मात्रै यो शब्द परिवर्तनको कार्य सम्भव नहुने देखेपछि उहाँले अन्य महिला अधिकारकर्मी र नेकपा (एमाले) का वरिष्ठ नेताहरूसँग छलफल पनि गर्नुभयो । यही कारणले गर्दा उहाँको पार्टी यो शब्द परिवर्तनमा आफ्नो सहमति जनाइसकेको छ । तर अन्य पार्टी दबाबमा पनि यो विषय निर्भर रहेको उहाँको धारणा छ ।
सभासद् भएर बटुलेको अनुभवको आधारमा महिलाको मुद्दालाई सडकमा लैजानुभन्दा संविधानसभा सदस्यहरूलाई विश्वस्त पार्नु बढी कठिन लाग्यो विन्दालाई । यद्यपि नयाँ बन्ने संविधानमा लैंगिक मुद्दालाई बढी संवेदनशील बनाउने आफ्नो लडाइँलाई हमेशा जारी राख्ने उहाँ बताउनुहुन्छ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .