नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
पार्वती थापा मगर
प्रहरी नायब महानिरीक्षक, नेपाल प्रहरी
जन्मः फेब्रुअरी, १९६०, सिमल गैरी, गोरखा जिल्ला ।
मगर जनजाति समुदायबाट पहिलो प्रहरी नायब महानिरीक्षक पदमा पुग्नु भएकी पार्वती थापा मगरको छ जना केटाकेटीमध्येकी जेठी छोरीको रुपमा जन्म भएको थियो । सानो हुँदा लजालु र भावुक स्वभावकी थापा अहिले गम्भीर र साहसी प्रहरी अधिकृतको रुपमा चिनिनु हुन्छ ।
अन्य महिला झैं उहाँले पनि नेपाली समाजमा बेलाबखत देखिएको राजनीतिक र सामाजिक उतारचढाव देख्नुभएको थियो । थापा मगरले आफ्ना साना भाइबहिनीको हेरविचार समेत गर्नुपर्ने जिम्मेवारी रहेका कारण बाल्यकालमा त्यति धेरै स्वतन्त्रता प्राप्त गर्न सक्नुभएन । बुबाआमाको बिबाह भएको धेरै वर्षछि पहिलो सन्तान जन्मिएका कारण पार्वतीलाई छोराजस्तै गरी हुकाउनु भएको थियो । उहाँका बुबाले पार्वतीलाई छोरा भनेर बोलाउने गर्नुहुन्थ्यो । घरको सबैजसो जिम्मेवारी उहाँकै काँधमा थियो जसले उहाँलाई परिवारभित्र जिम्मेवार सदस्य बनाएको थियो । बुबाआमालाई काममा जानुपर्ने भएकोले आठ वर्षो उमेरदेखि नै उहाँले घरको सम्पूर्ण जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपरेको थियो ।
थापा मगरका बुबाले भारतीय सेनामा सेवा गर्नुभएको थियो भने आमाले घरमै गृहिणीको रुपमा काम गर्नुभयो । पढाइमा उहाँलाई सहयोग गर्ने कोही थिएनन् । बाल्यकालमै उहाँले अभिभावको भूमिका निर्वाह गर्नुपरेको थियो र उहाँले दुईजना बहिनी र तीनजना भाइलाई हेरबिचार गर्नुपर्दथ्यो । गोरखाबाट चितवन जिल्लामा केटाकेटीको पढाइका निम्ति बसाइ र्सर्ने निर्णयगरेपछि मात्र उहाँको शैक्षिक जीवन आरम्भ भएको थियो किनभने गोरखामा त्यसबखत राम्रो विद्यालय र यातायातको सुविधा थिएन ।
उहाँले एसएलसी परीक्षा सन् १९७९ मा चितवनको खैरेनी माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभयो । यो विद्यालय पुग्न उहाँलाई दिनहुँ झण्डै एकघण्टा हिँड्नु पर्दथ्यो । उहाँको शैक्षिक प्रस्तुती सन्तोषजनक थियो तर घरयासी काममा अल्झनु पर्ने भएकोले अतिरिक्त कृयाकलाप र खेलकुदमा त्यति समय पुग्दैनथ्यो । थापा मगर आफ्नो समूहमा एसएलसी गर्ने एक मात्र छात्रा हुनुभयो र आफ्नो समुदायमा एसएलसी गर्ने एकमात्र मगरको छोरी हुनुभयो ।
प्रहरी अधिकृत हुने उहाँले जीवनको लक्ष्य नराखेको भए पनि बुबाले भारतबाट ल्याउनु भएका भारतीय पत्रपत्रिकामा भारतीय महिला प्रहरी र सैनिक अधिकृतको तस्वीरले उहाँलाई आकषिर्त गर्यो । हिन्दी चलचित्रमा महिला प्रहरी इन्स्पेक्टरको भूमिकाबाट समेत उहाँ प्रभावित हुनुभएको थियो ।
एसएलसी परीक्षा उत्तीर्ण गरेपछि थापा मगरलाई बाटो देखाउने कोही थिएन र कुन संकायमा भर्ना हुने भन्ने निर्णयगर्न उहाँलाई सहयोग गर्ने कोही भएनन् । उहाँ सन् १९७९ मा उच्च शिक्षा अध्ययनका निम्ति एक्लै काठमाडौं आइपुग्नुभयो । नातेदारले जेठी छोरीको विवाह गर्नुपर्दछ भन्ने दबाब दिए पनि उहाँले अध्ययनका निम्ति देखाउनु भएको उत्साहलाई बुबाले स्वीकार्नु भयो र यसमा उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।
थापा मगर काठमाडौं आउँदा कुन विषय पढ्ने, कुन कलेजमा भर्ना हुने र कहाँ बस्ने समेत थाहा थिएन । उहाँ अन्ततः पद्मकन्या कलेजमा मानवशास्त्र विभागमा भर्ना हुनुभयो र परिवारबाट विवाहको दबाब आए पनि प्रविणता तहसम्मको अध्ययनलाई निरन्तरता दिनुभयो । जनजातिका केटीहरुले चाँडो विवाह गर्ने भए पनि थापा मगरले भाग्यवश प्रविणता तह उत्तीर्ण गर्न पाउनुभयो र सन् १९८१ मा स्नातक तहमा भर्ना हुने क्रममै भीमबहादुर थापा मगरसँग विवाह बन्धनमा बाँधिनुभयो ।
थापा मगरले बिबाह भए पछि मात्र सफलताको बाटो चुम्न थाल्नुभयो । उहाँका श्रीमान् प्रहरी नायब निरीक्षक हुनुहुन्थ्यो र उहाँले नै प्रहरीमा प्रवेश गर्न उत्साहित गर्नुभयो । श्रीमान् र श्रमती दुवैले एउटै पेशामा काम गर्दा परिवार चलाउन सहज हुने सोचेर दुवैले यो निर्णयगर्नु भएको थियो । स्नातक तह उत्तीर्ण हुनासाथ प्रहरी निरीक्षक पदमा दरखास्त दिन श्रीमान्ले सल्लाह दिनुभएको थियो । उहाँले नेपाल प्रहरीमा सन् १९८३ मा प्रहरी नायव निरीक्षकको रुपमा प्रवेश गर्नुभएको हो । त्यसबखत उहाँको पहिलो छोरी दुईवर्षी थिइन् र अर्को वर्षउहाँको दोस्रो बच्चा जन्मियो । नेपालमा सुरक्षा निकायमा धेरै कम महिला मात्र त्यसबखत कार्यरत थिए ।
थापा मगरका बुबा, काका र अन्य नातेदारहरु सैनिक सेवामा कार्यरत हुनुहुन्थ्यो । त्यही कारण दुई बच्चाकी आमा भए पनि उहाँलाई नेपाल प्रहरीमा रहेर बढी मेहनत गर्न प्रोत्साहित गर्यो । खुला प्रतिष्पर्धाबाट महाराजगंजस्थित वीरेन्द्र प्रहरी अस्पतालको प्राविधिक विभागमा प्रहरी नायव निरीक्षकको रुपमा छनौट हुँदा उहाँका बुबा र काका अत्यन्त खुशी हुनुभएको थियो ।
थापा मगर तीन वर्षम्म प्रहरी नायव निरीक्षकको रुपमा सेवा गरेपछि सन् १९८६ मा प्रहरी निरीक्षक बन्नुभयो । पहिले, नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा महिलाले प्रतिष्पर्धा गर्न अनुमति थिएन तर डी.बी. लामा प्रहरी महानिरीक्षक भएपछि खुला प्रतिष्पर्धाबाट पनि महिला अधिकृतहरु लिनेगरी कानुन संशोधन गर्नुभयो । थापा मगर समेतका तीनजना महिलाले यस अवसरलाई प्रयोग गर्नुभयो र सन् १९८६ मा प्रतिष्पर्धा गरेर सफल हुनुभयो ।
उहाँको प्रहरी निरीक्षक तालिम पुरुष प्रहरी निरीक्षककै समकक्षी थियो । महिला भएकै कारण महिलाका निम्ति विशेष व्यवस्था थिएन । थापा मगरका श्रीमान्ले उहाँलाई हौसला प्रदान गर्नुभयो तर अति कठिन भएमा जागिर छाड्न सक्नेसम्म सल्लाह दिनुभयो । तर उहाँले यसलाई अस्वीकार गर्दै कठिन तालिमलाई पूरा गरेरै छाड्नुभयो ।
थापा मगरले प्राविधिक विभागमा अन्य प्राविधिक कामका साथै भिडियो सम्पादकको काम पनि गर्नुभयो । उहाँले "प्रहरी अनुरोध" कार्यक्रममा समाचारवाचिकाको रुपमा समेत काम गर्नुभयो जुन राज्य-सञ्चालित नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दथ्यो । प्रहरी बलमा प्रवेश गरेपछि उहाँले निरन्तर पदोन्नतिको सिँडी चढ्दै जानुभयो ।
सन् १९९३ मा थापा मगरको प्रहरी नायव उपरीक्षकको पदमा बढुवा भयो र दुई वर्षा निम्ति धादिङको प्रहरी प्रमुखमा पदस्थापन गरिनुभयो । जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाउने उहाँ नै नेपाल प्रहरीको पहिलो महिला प्रहरी अधिकृत हो । त्यसपछि खुला प्रतिष्पर्धाबाट राष्ट्रसंघीय शान्ति स्थापना टोलीको सदस्यको रुपमा उहाँ छनौट हुनुभयो । सन् १९९५ मा उहाँले राष्ट्रसंघीय मिसनमा रहेर बोस्निया हर्जगोभिनामा १४ महिना काम गर्नुभयो जहाँ उहाँले ३४ मुलुकका प्रतिनिधिसँग काम गर्नुभयो । त्यसैगरी, उहाँले सन् २००४ मा पश्चिम अप्रिकी मुलुक शान्ति अभियान टोलीमा काम गर्नुभयो ।
व्यस्त जीवन भए पनि थापा मगरले पद्मकन्या कलेजबाट सन् १९९७ मा एकवर्षो पोष्ट-ग्राजुएट कोर्षपूरा गर्नुभएको छ । यतिमात्र नभइ उहाँले नेपाल ल क्याम्पसबाट एल.एल.बी. समेत पूरा गर्ने जमर्को गर्नुभयो । राष्ट्रसंघीय शान्ति अभियानबाट फर्केपछि उहाँले नेपाल प्रहरीको महिला र बालबालिका विभागको प्रमुखको रुपमा सेवा गर्नुभयो । उहाँ सन् १९९९ मा नेपाल प्रहरीको प्रहरी उपरीक्षक पदमा बढुवा हुनुभयो । सन् २००६ मा उहाँलाई मेची अञ्चल प्रहरी कार्यालयमा बरिष्ठ प्रहरी उपरीक्षकको रुपमा पदस्थापन गरियो र यो पनि पहिलो राष्ट्रिय रेकर्ड थियो । उहाँ नै अञ्चल प्रहरी कार्यालयको पहिलो प्रमुख महिला प्रहरी अधिकृत हुनुहुन्थ्यो । उहाँलाई त्यसपछि सन् २००६ को अन्त्यतिर दुई वर्षा निम्ति गण्डकी अञ्चल प्रहरी कार्यालयमा सरुवा गरियो ।
थापा मगरले सदैव कर्तव्यलाई पहिलो प्राथमिकता दिनुभएको छ र आफ्नो पेशागत क्षमता प्रदर्शनमा गर्व गर्नुहुन्छ । तैपनि, उहाँका उपलब्धीहरु आफ्ना दुईबच्चाको समयको बदलामा प्राप्त भएको हो जुन उहाँको मुटुमा गहिरोसँग सदैव बिजाइरहन्छ । कुनै समय आफ्ना भाइबहिनीका निम्ति अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने अवस्था थियो तर उहाँ आफैंले आफ्ना केटाकेटीलाई सहयोगीको जिम्मामा लगाउनु पर्यो । त्यसबखत उहाँले परिवारको माया-ममतालाई त्याग गर्न नसकेको भए उहाँले आजको उपलब्धी प्राप्त गर्न कठिन हुनेथियो ।
नेपालका धेरै कम मानिसले मात्र महिलाले राम्रो पद हासिल गर्न कति त्याग गर्नुपर्दछ भन्ने बुझ्न र मूल्याङ्कन गर्न सक्षम भएका छन् । थापा मगरले आज हासिल गर्नु भएको पद लैंगिक विशेषाधिकारका आधारमा नभइ प्रतिष्पर्धाबाट प्राप्त भएको हो ।
थापा मगरले सन् २००३ मा अमेरिकाको धेरै सम्मानित इन्टरनेसनल विमेन एसोसिएसन अवार्ड प्राप्त गर्नुभएको छ । विश्वका ११० राष्ट्रका महिला प्रहरी अधिकृतहरुसँगको प्रतिष्पर्धामा दशजना महिला प्रहरी अधिकृतमा छानिएर उहाँले यो अवार्ड प्राप्त गर्नुभएको थियो ।
व्यस्त पेशागत जीवन बाहेक थापा मगरलाई साहित्यमा रुची छ । उहाँ फुसदका क्षणमा कविता र गीत लेख्नुहुन्छ । सन् २००४ मा उहाँले नेपाली आधुनिक गीतहरुको संगालो "लगन" र्सार्वजनिक गर्नुभएको थियो ।
थापा मगरले नेपाल प्रहरीमा प्रवेश गरेयता जीवनका बारेमा धेरै कुरा जान्ने बुझ्ने मौका पाउनु भएको छ । उहाँको पेशाले उहाँको पहिचानलाई नै भिन्न बनाएको छ । सुरक्षा बलमा सेवा गर्नेक्रममा उहाँले विश्वका २८ भन्दा बढी मुलुकको भ्रमण गरिसक्नु भएको छ ।
नेपाल प्रहरी बलमा २० प्रतिशत महिला समावेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको भए पनि मगरले यो विशेषाधिकारबाट लाभ लिन पाउनु भएको छैन । उहाँका निम्ति सीप र प्रतिष्पर्धाबाट मात्र यो पद हासिल भएको छ । तैपनि, सामाजिक नियम कानुनलाई व्यवस्थित गर्नका निम्ति महिलाहरु प्रहरी सेवामा प्रवेश गर्नु जरुरी भएको उहाँ विश्वास गर्नुहुन्छ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .