नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
शान्ता चौधरी
सदस्य, संविधानसभा (नेकपा एमाले)
जन्मः वि.स. २०३७, दाङ जिल्ला ।
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै महिला सभासदले कुनै न कुनै रुपको थिचोमिचो, यातना अथवा विभेदको सामना गर्नुपरेको छ । प्रत्येक महिला सदस्यका आ-आफ्नै धेरै कथाव्यथा छन् । त्यसमध्येकी शान्ता चौधरी एक हुनुहुन्छ जसको मुटु कमाउने कथाले अन्ततः सफलता चुम्न सफल भएको छ ।
दुई दशकसम्म दाशतापूर्ण जीवन बिताएपछि चौधरी अहिले संविधानसभा सदस्यको रुपमा संविधान निर्माणको महत्वपूर्ण थलोमा पुग्नु भएको छ । उहाँ अहिले नेपालको नयाँ संविधान निर्माण गर्न आफ्ना अनुभव र ज्ञानमार्फ सहयोग गर्न तल्लीन हुनुहुन्छ ।
शान्ता चौधरीको जन्म वि.स. २०३७ मा दाङ जिल्लाको लक्ष्मीपुर गाउँ विकास समितिको डाँडागाउँमा गरिब परिवारमा भएको थियो । विद्यालय जानुपर्ने उमेर भए पनि आठ वर्षो हुँदा नै सभासद् चौधरीले स्थानीय जमिन्दारको घरमा काम गर्नुपरेको थियो । बाल्यकालदेखिको कम्लरी जीवन सभासद् हुनकै लागि मुक्त भएको हो कि भन्ने लाग्नसक्छ किनकी १८ वर्षो लामो कम्लरी जीवनबाट उहाँ २०६३ सालमा मात्र मुक्त हुनुभएको हो । व्यवस्थापिका संसद अर्न्तर्गत प्राकृतिक स्रोत र साधन समितिको सभापति रहनुभएकी शान्ता चौधरी संविधानसभा अर्न्तर्गत प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजश्व बाँडफँाड समितिमा सदस्य पनि हुनुहुन्छ ।
उहाँ २०६३ सालसम्म कम्लरी नै हुनुहुन्थ्यो । कम्लरी दाशताको एउटा रुप हो । बुबाआमाले आश्रय लिएको जमिन्दारको घरबाट लिएको ऋणको ब्याजस्वरुप छोरीलाई कम्लरीको रुपमा राख्ने प्रचलन छ । चौधरीले झण्डै १८ वर्षम्म कम्लरीको रुपमा काम गर्नुभयो । पशुभन्दा तल्लो व्यवहार सहन बाध्य कम्लरीलाई सामान्यतया विद्यालय जानबाट बन्चित गरिने, शरीरले थाम्नै नसक्ने शारीरिक श्रम गर्न बाध्य पारिने र जीवन निर्वाहका निम्ति जमिन्दारले छाडेको जुठो खानामा निर्भर रहनुपर्ने बाध्यात्मक परिस्थिति हुन्थ्यो । कामदारले जमिन्दारको घरायासी कामहरुका निम्ति जस्तै, घाँसपात जम्मा गर्ने, लुगा र भाँडा सफा गर्ने, विहान तीनवजे नै उठ्नुपथ्र्यो र यस्तो कार्य मध्यरातसम्म जारी रहन्थ्यो । चौधरीसँग आफ्नो बाल्यकालका तीता अनुभव र सम्झना धेरै छन् । आफ्नो बाल्यकाल सम्झदै शान्ता भन्नुहुन्छ, 'एकदिन मैले पानी बोकेको घैंटो फुटेको निहुँमा जमिन्दारले त्यही घैंटोको टुक्राले मेरो टाउकोमा चोट लाग्नेगरी हिर्काएका थिए ।'
कम्लरीले वर्षरिमा रु. ५०० देखि ७०० सम्म कमाउन सक्छन् तर यथार्थमा त्यही तलबबाट पनि लुगा फटाएको र भाँडाकुँडा नोक्सानी गरेको कटाउँथे ।
चौधरी थोरैमध्येकी एकमात्र भाग्यशाली कम्लरी हुन् जसमाथि यौन शोषण गरिएको थिएन तर धेरै अन्य केटीहरुले यस्ता जघन्य अपराध सहनु परेको उहाँलाई थाहा छ । उहाँ कम्लरी बराबरको अर्को कुनै दुःखदायी जीवन नभएको विश्वास गर्नुहुन्छ ।
यस्ता कथाहरु पुस्तौंदेखि चल्दै आएका छन् । उहाँका बुबाले कमैया र आमाले कम्लरीको रुपमा जीवन बिताउनु भयो । उहाँका पाँचजना छोरीहरु सोनी, सुरज्या, जुगल्या, राजी र सुब्या जीवनभर कमैया भए र दाजु रामप्रसाद पनि कमैया थिए । उहाँका दिदीबहिनीले चार वा पाँचवर्षो कलिलो उमेरदेखि नै कम्लरीको रुपमा काम गर्न प्रारम्भ गरेका थिए ।
कम्लरी मुक्तिको घोषणा भए पछि चौधरीको परिवारले जमिन्दारको घरमा बस्नु परेको छैन । तैपनि जीवन निर्वाहका निम्ति अझै पनि जमिन्दारको खेत जोत्नु परिरहेको छ । यसैले, जीवन संर्घष अझै समाप्त भएको छैन । हाल उहाँको परिवारको सानो घर छ जहाँ दुईजना दिदीबहिनी बस्नुहुन्छ । तर उहाँका अन्य परिवारका सदस्यहरुले अझै पनि जमिन्दारको निगाहामा निर्भर हुनु परेको छ । उहाँकी दिदीका छोरीहरु पनि कम्लरी थिए तर हालै उनीहरु मुक्त भएका छन् ।
जमिन्दारले चौधरीको अध्ययनप्रति रुची नदेखाएको कारण केही समयमात्र उहाँले विद्यालय जान पाउनु भयो । स्थानीय विद्यालयमा शिक्षिका रहेकी जमिन्दारकी श्रीमतीको सानो बच्चा हेर्ने जिम्मेवारी उहाँलाई दिइएको थियो । शान्ताले पाउने तलब भने विद्यालय गएको भन्दै काटिन्थ्यो तर यथार्थमा उहाँको दैनिकी बच्चाको हेरचाहमै बित्ने गर्दथ्यो । पछिमात्र उहाँ घरधन्धा सकेर रात्रीकालीन प्रौढ शिक्षा कक्षामा सामेल हुन थाल्नुभयो ।
चौधरीले औपचारिकरुपमा नेकपा एमालेको सदस्यता सन् २००५ मा प्राप्त गर्नुभएको थियो । कम्लरीलाई राजनीतिक गतिविधिमा सामेल हुन बन्चित गरिएको भए पनि उहाँ भूमिगत रुपमै पार्टीी आबद्ध हुनुभएको थियो । प्रौढ कक्षाका साथीहरुसँग कुराकानी गर्दा वा घाँसपात खोज्न जंगल जाँदा उहाँले असमानता, थिचोमिचो र यातनाका विषयमा छलफल गर्ने अवसर पाउनुभयो । यी गोप्य भेटघाटले अन्याय र अत्याचार खेपेका महिलाबीच एकताको भावना जागृत गराउन सहयोग पुर्याउनुका साथै सुखद भविष्यका निम्ति नयाँ क्षितिजको सम्भावना उघारेको थियो ।
चौधरीको स्वभाव सानैदेखि व्रि्रोही थियो । सामाजिक समानता कायम गर्न र अराजकताका बिरुद्धमा संर्घषका निम्ति काम गर्ने उहाँको इच्छाले विस्तारै राजनीति आन्दोलनतर्फअग्रसर गरायो । चौधरीको पहिलो भूमिका नै भूमि अधिकार आन्दोलनमा सहभागिता थियो । उहाँ राष्ट्रिय भूमि अधिकार मन्चमा वि.स. २०६० मा आबद्ध हुनुभएको थियो र मन्चको दाङ शाखाको सभापतिमा वि.स. २०६२ मा चुनिनु भयो ।
कम्लरी प्रणालीका बिरुद्धको संर्घष त्यति सजिलो थिएन । कम्लरीका बुबाआमाले नै कम्लरीको मुक्तिका निम्ति चालेको आन्दोलनका सम्बन्धमा गलतरुपमा बुझेका कारण अभियानकै सफलतामा प्रश्नचिहृन उब्जेको एउटा घटनालाई उहाँ कहिल्यै बिर्सनु हुन्न । चौधरीलाई काट्छौं भन्दै खुकुरी लिएर केहीले उहाँको खोजी समेत गरे किनभने कम्लरीका बुबाआमाहरु छोरीहरुको अवस्था अझ नाजुक हुने भयो भनेर चिन्तित भएका थिए ।
आजपनि, तराइका धेरैजसो धनी मानिसले आफ्ना घरमा कम्लरी राखेका छन् । यद्यपि, उनीहरुले गर्ने काम उही हो तर उनीहरुलाई आजभोलि कसैले सहयोगी र कसैले घर कुरुवा भनेर नाम फेरेका छन् । विभिन्न गैर सरकारी संस्थाको अध्ययन अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा अझै पनि करिब १४,००० कम्लरी छन् । सर्वोच्च अदालतले कम्लरी राख्नु गैर कानुनी हो भनेर फैसला सुनाइसकेको छ तर सरकारले यस्तो दासत्वलाई निर्मूलन गर्नेतर्फत्यति चासो देखाएको छैन । भाग्यवश, दाङ जिल्लालाई कम्लरी मुक्त जिल्ला घोषणा गर्न सकिएको छ ।
संविधानसभाको सदस्य भए पनि चौधरीको जीवनयापनमा कुनै परिवर्तन आएको छैन । प्राकृतिक स्रोत समितिको सभापतिको हैसियतमा उहाँले एउटा सवारीसाधन पाउनु भएको छ तर संविधानसभा भवनकै नजिक बानेश्वरमा एउटा सानो र सामान्य घरमा भाडामा बस्दै आउनु भएको छ ।
चौधरीको हाल दश वर्षो छोरा र एउटी छोरी छन् । उहाँका श्रीमान् गाउँमै अर्को व्यक्तिको खेतमा काम गर्नुहुन्छ र छोराछोरीलाई उहाँले राजधानीमा आफूसँगै राख्नुभएको छ । दुईवर्षयतादेखि मात्र उहाँले आफ्ना केटाकेटीका निम्ति कपडा किन्न सक्ने हुनुभएको हो ।
चौधरी सबै कम्लरीलाई स्वावलम्बी र आफ्नै खुट्टामा उभिन सक्ने भएको हर्ेर्ने इच्छा राख्नुभएको छ । मुक्त भएका कम्लरीले उहाँबाट धेरै आशा गरेका छन् तर शताब्दियौं पुरानो कम्लरी प्रणालीबाट पूर्णरुपमा छुटकारा पाउन अझै समय लाग्ने उहाँको धारणा छ । "कम्लरी बिरोधी आन्दोलनमा सबै पक्षबाट समन्वय भएमा र राज्यले उनीहरुको आवाज सुनेमा कम्लरी केटीहरुले धेरै दिनसम्म दासतामा बस्नु पर्दैन । उनीहरुलाई सिंहदरवारमा प्रवेश गर्न, राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै नेतालाई भेट्न पनि कुनै समस्या पर्ने छैन," उहाँ भन्नुहुन्छ ।
कम्लरीहरुको हकहितको निम्ति आवाज उठाउन उर्मिला चौधरीले अध्यक्षता गर्नुभएको साझा मञ्च स्थापना गरिएको छ । कम्लरीको रुपमा छोरीहरुलाई कसैले पनि दास बनाएर राख्न नपाउने आन्दोलनकै परिणामस्वरुप दाङ जिल्ला कम्लरी मुक्त जिल्ला घोषणा गरिएको हो । "म जीवनभर कम्लरी केटीहरु र उनीहरुको भलाइका निम्ति काम गरिरहनेछु," उहाँ भन्नुहुन्छ ।
सरकारी नीति र कार्यक्रममा समेत कम्लरीलाई जल्दोबल्दो समस्याको रुपमा लिएर समावेश गरिएको छ । आर्थिक वर्ष२०६६/६७ को बजेटमा समेत कम्लरीका निम्ति सरकारले आवासीय विद्यालय वा प्राविधिक तालिमका निम्ति निःशुल्क शिक्षा प्रदान गर्ने भनिएको छ । बजेटमा भूमिहीन, हरुवा-चरुवा, वादी र अन्य गरिब समुदायका निम्ति जीवनस्तर उकास्न राज्य संवेदनशील र सचेत रहेको भनिएको छ ।