This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.

शशी श्रेष्ठ

केन्द्रीय समिति सदस्य : एकीकृत नेकपा माओवादी
पर्वअध्यक्ष : अखिल नेपाल महिला सङ्घ
जन्म : २०१७ साल, काभ्रे जिल्ला

nepalimahila.com

विवाहपश्चात् एक गृहिणीको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक जीवनलाई पनि अगाडि बढाउने नेपाली महिलामध्येकी एक हुनुहुन्छ शशी श्रेष्ठ । हाल उहाँ एक सक्रिय महिला अधिकारवादीको साथ साथै नेपालको सबैभन्दा ठूलो पार्टीएकीकृत नेकपा माओवादीकी केन्द्रीय समिति सदस्य पनि हुनुहुन्छ । काभ्रे जिल्लास्थित मङ्गलटार बजारमा २०१७ साल पुस महिनामा जन्मनुभएकी शशीको परिवारको आफ्नै सानो व्यापार थियो । आफू अशिक्षित भए पनि छोराछोरीलाई पढाउने ठूलो चाहना उहाँको बुबाको थियो । त्यसैले गाउँमा विद्यालय निकै टाढा भएकाले उहाँ आफ्नो छोराछोरीलाई घरमै पढाउनका लागि शिक्षकको खोजीमा भारतसम्म पुग्नुभएको थियो ।

परिवारमा ६ सन्तानमध्ये शशी एक्ली छोरी हुनुहुन्थ्यो । आफूले पाए जति माया आफ्नो उमेरका निकै कमै मात्र छोरीहरूले उनीहरूको परिवारबाट पाएका उहाँ सम्झनुहुन्छ । शशी नौ-दस वर्षो भइञ्जेल पनि उहाँको बुबाले बोकेरै खाना ख्वाउनुहुन्थ्यो । यद्यपि परिवारबाट एउटी छोरीको लागि माया मात्रै पर्याप्त नहुने महसुस गरेकी शशी भन्नुहुन्छ, "मैले जन्मेदेखि नै परिवारमा प्रशस्तै माया पाएँ । तर पनि अन्य नेपाली महिलाले झैँ भेदभाव र दमन पनि महसुस गरेँ ।"

शशीका दाजुभाइ दिनभरि घरबाट गायब हुँदा पनि कसैले वास्ता गर्ने थिएन । तर उहाँलाई भने छिमेकमा गएर खेल्नसमेत बन्देज थियो । उहाँलाई एकैछिन नदेख्दा परिवारमा ठूलै खलबली मच्चिन्थ्यो । तर त्यसको प्रतिकार गर्दै शशी आफ्ना अविभावकसँग मलाई मात्रै किन यस्तो भनेर प्रश्न गर्नुहुन्थ्यो । शशीको त्यही स्वभावले आज उहाँलाई यहाँसम्म ल्याइपुर्‍याएको छ ।

त्यसैगरी समाजमा रहेको धनी र गरिब, ठूलो र सानो जात अनि महिला पुरुषबीचको असमानताले पनि उहाँलाई निकै चिन्तित तुल्याउँथ्यो । जसले उहाँको स्वभावलाई अझै बढी क्रान्तिकारी बनाइदियो । उहाँ नौ वर्षो हुँदा एक धनाढय आफन्तमा भाइ पर्नेले उसलाई लडाइदिएको आरोप शशीलाई लगाएपछि उहाँले पनि चक्कु नै देखाउनुभएको थियो । आफ्नो उक्त कदमप्रति उहाँले सजाय पनि पाउनुभएको थियो ।

बामपन्थीको अखडाका रूपमा परिचित सिन्दुली जिल्लामा गएर उहाँ ६ कक्षामा भर्ना हुनुभएको थियो । उहाँ पढेको विद्यालयमा हाल माओवादीका केन्द्रीयस्तरका नेता चन्द्रप्रसाद गजुरेल पनि शिक्षक हुनुहुन्थ्यो । यही क्रममा उहाँको भेट केही वामपन्थी नेताहरूसँग हुनपुग्यो । त्यसैगरी चिनियाँ साहित्यबाट पनि उहाँ निकै प्रभावित हुनुभयो ।
साम्यबाद भनेको एउटा यस्तो राजनीतिक व्यवस्था हो जसले वर्गीय विभेदको अन्त्य गर्नुका साथै युवावर्गलाई राम्रो शिक्षा र रोजगारी प्रदान गर्नुको साथै वृद्धवृद्धालाई सम्मान गर्छ भन्ने उहाँले पनि बुझनुभयो । तर राजनीतिदेखि टाढै रहेको परिवारबाट आउनुभएकी शशीका लागि ती कुरा नितान्त नौलो रहृयो । तैपनि उहाँ कसैको मार्गनिर्देशन विना नै विभिन्न क्रियाकलापमा सक्रिय हुन थाल्नुभयो । पञ्चायती व्यवस्थाविरुद्धका सभा र प्रदर्शनीहरूमा उहाँ भाग लिनुहुन्थ्यो भने मण्डले विद्यार्थीविरुद्ध जाइलागेको अनुभव पनि उहाँसँग छ ।

वि.सं. २०३३ मा उहाँ आफ्नै गाउँ बनेपा फर्केर आजाद उच्चमाविमा भर्ना हुनुभयो । त्यहाँ भेट भएका दिलसुन्दर श्रेष्ठ र अन्य राजनीतिज्ञले नै उहाँलाई पनि कम्युनिस्ट पार्टीी लाग्न प्रेरित गरे । उहाँ राजनीतिमा लाग्न सुरु गर्दा नेपाल कम्युनिस्ट पार्टी चौमको सक्रियताले उचाइ छोएको थियो ।

छोरीको राजनीत्रि्रतिको झुकाव उहाँको परिवारलाई त्यति चित्त बुझेन । त्यसैले एसएलसीपश्चात् नै उहाँको पढाइ बन्द गर्राई बिहे गरिदिने सोच उनीहरूले बनाए । तर उहाँले आफूमाथि आएका सम्पर्ण दबाबको सजिलै प्रतिकार गर्नुभयो । आफूले जाँच् दिन पाउनर्पर्छ भन्दै घरमै भोकहडताल गरिदिनुभयो । उक्त अभियानमा उहाँकै एक दाजुले पनि शशीलाई साथ दिनुभयो । यसरी कसैले एसएलसीसम्म पनि पास गर्न नसकेको घरमा शशीले भने शिक्षा र मानविकीमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभयो । उहाँले समाजशास्त्रमा स्नातकोत्तरको पढाइ सुरु गरे तापनि राजनीतिक सक्रियताले गर्दा त्यसलाई पूरा भने गर्न सक्नुभएन ।

पारिजातको नेतृत्वमा २०३३ सालमै अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को पर्नर्गठन भएको थियो । श्रेष्ठ त्यतिबेला पारिजातको बिचार र प्रतिबद्धताबाट निकै प्रभावित हुनुभयो । त्यसैले उहाँ सुरुदेखि नै सङ्घमा आबद्ध हुनुभयो । त्यसताका राजनीतिक पार्टीप्रति प्रतिबन्ध लगाइएकाले आफ्नो राजनीतिक धारणा अभिव्यक्त गर्ने माध्यम नै सङ्घ बनेको थियो । उहाँले अनेमसङ्घको बिस्तारमा पनि सक्रिय भूमिका निभाउनुभयो । आफ्नो भेष बदलेर भए पनि सङ्घको काममा अगाडि बढ्नको लागि उहाँले कालधारामा एउटा टेलर पसल सञ्चालन गरेर त्यहाँका स्थानीय महिलासँग सर्म्पर्क बढाउनुभयो । नेपाली संस्कृतिमा महिलाको महत्व बुझाउँदै नेपाली महिलाको अवस्थामा परिवर्तन ल्याउनका लागि उनीहरूलाई आफ्नो तर्फाट ठूलो भूमिका निभाउन शशीले हौसला दिनुभयो । ती महिला समूह पनि सदस्य सङ्ख्या बढाउने, अर्थ सङ्कलन गर्नेलगायतका काममा सक्रिय रहे । महिला एकीकृत भई सरकारलाई दबाब दिने काममा उहाँहरूले कामदार, विद्यार्थी र अन्य बिभिन्न भूमिकामा आफूलाई ढाल्नुपर्‍यो ।

स्थानीय मध्यम बर्गीय महिलाले आफ्नो घरमा पाएको सुखसुविधा वास्तबिक रूपमा सुख नभएको सम्झाउँदै उनीहरूलाई स्वतन्त्रताको बाटो देखाइदिनुका साथै महिला मुक्तिको उपाय पनि शशीले बताइदिनुभयो ।
पञ्चायती शासनमा एक राजनीतिक अधिकारकर्मीका रूपमा काम गर्न आजको भन्दा निकै कठिन थियो । श्रेष्ठले २०३६ सालमा ललितपुरको ठैवमा विद्यार्थीको एक राष्ट्रिय भेलाको नेतृत्व गर्नुभएको थियो । त्यहाँ उपस्थित जोसिला विद्यार्थीहरूले बाँडेगाउँमा एउटा र्‍याली गर्ने विचार गरे । त्यसै दिन राति पुलिसले हेलिकप्टरबाट ती बिद्यार्थीहरूलाई गाउँभरि खोजी गर्‍यो । तर शशी भने केही स्थानीय किसानको सहयोगले त्यहाँबाट भाग्न सफल हुनुभयो । त्यसपछि आफ्नो नाममा पक्राउ पर्र्जी जारी भएकोले तीन महिनासम्म उहाँलाई भूमिगत नै रहनुपर्‍यो ।

हाल एकीकृत नेकपा माओवादीका अध्यक्ष रहेका पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा सोही वर्षअखिल नेपाल युवा सङ्घको गठन भएको थियो । चीनमा रहेको योङ कम्युनिस्ट लिगजस्तै एक सैन्य दस्ता तयार पार्नु उक्त सङ्घ स्थापनाको उद्देश्य थियो । उक्त सङ्घमा शशी सुरुदेखि नै केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो । उहाँको साथमा देव गुरुङ, सर्वोत्तम डङ्गोल र कमानसिंह लामा सदस्य थिए । पछि गएर सोही सङ्घ नै जनयुद्धको जग बनेको उहाँ बताउनुहुन्छ ।

सङ्घ गठनको एक वर्षश्चात् जनमतसङ्ग्रह भयो र सरकारले पञ्चायती व्यवस्था पर्नर्गठन गर्ने घोषणा गर्‍यो । यसले राजनीतिक दलहरूलाई निकै ठूलो झड्का लाग्यो । तैपनि उनीहरू विरोधमा उत्रन डराइरहेका थिए । त्यतिबेला नै अनेमसङ्घ भने सडकमा उत्रिएर सरकारको उक्त कदमको विरोध गर्न थाल्यो । प्रदर्शनमा प्रहरी हस्तक्षेप भयो र शशी पनि पक्राउ पर्नुभयो । त्यतिबेलाको राजनीतिक पार्टीभन्दा महिला सङ्घ नै बढी सक्रिय रहेको कुरा सोही घटनाले प्रतिबिम्बित गर्ने शशीको भनाइ छ । शशी पक्राउ परेपछि अब छोरीको बिहे नहुने भयो भनेर परिवारका सबैजना चिन्तित हुन थाले । तैपनि उनीहरूले बिहेका लागि केटा खोज्न भने छाडेनन् । तर शशीले भने सोही समय घरै छाडेर जाने विचार गर्नुभयो र यस बारेमा पार्टी सल्लाह पनि गर्नुभयो । आफ्नो दाजुबाट कुनै पनि आर्थिक सहयोग नपाएपछि शशीले उहाँकै एक साथी इश्वरीसँग मद्दत माग्नुभयो । त्यतिबेला बुबाले सबै सम्पत्ति आफ्ना छोराहरूलाई भाग लगाइसक्नुभएकाले आफूलाई मद्दत गर्न अर्समर्थ रहनुभएको सम्झँदै उहाँ भन्नुहुन्छ, "तैपनि उहाँले आफ्नो खल्तीमा भएको पचास रूपैयाँ मलाई दिनुभएको थियो । त्यही पैसाले मलाई नयाँ जीवनतिर डोर्‍याएकाले त्यो मेरो लागि बिर्सनै नसकिने उपहार बन्यो ।"

वि.सं. २०३६ मा उहाँको भेट लीलामणि पोखरेलसँग भयो र दुवैले विवाह गर्ने निधो गरे । तर दुवैतर्फा परिवार भने उहाँहरूको निर्णय सहमति भएनन् । यदि छोरीले राजनीतिकर्मीसँग बिहे गरेर राजनीतिक जीवनलाई अगाडि बढाइरहिन् भने दुःख पाउँछे भनेर शशीका परिवार चिन्तित थियो । तर उहाँहरूलाई पार्टीले सहयोग गर्‍यो र पारिजातको घरमा एउटा सानो समारोहबीच २०४१ सालमा विवाह सम्पन्न भयो । उक्त समारोहमा शशीका बुबा आउनुभएको थियो भने लीलामणिको परिवारबाट कोही पनि सहभागी भएका थिएनन् ।

यी दम्पतीका लागि वैवाहिक जीवन निकै सङ्र्घषपर्ण रह्यो । तैपनि लीलामणिको परिवारबाट उहाँहरूलाई कुनै पनि प्रकारको सहयोग मिलेन । यसका बाबजुत पनि शशीले आफ्नो श्रीमानलाई उहाँको परिवारसँग राम्रो सम्बन्ध राख्न बारम्बार अनुरोध गरिरहनुभयो । तर परिवारको तर्फाट भने कसैले पनि उहाँहरूलाई राम्रो व्यवहार गरेनन् । बरू उल्टै यी दम्पतीको सामाजिक र राजनीतिक जीवनमा बाधाअड्चन हाल्ने काम उनीहरूबाट भयो । कुनै पनि आफन्त र साथीभाइले शशीसँग सम्बन्ध राख्न चाहेनन् । आफ्ना ती दिनहरू आज सम्झन नचाहने शशी भन्नुहुन्छ, "राजनीतिक जीवन त सधैँ सङ्घषपर्ण नै रहयो । त्यसमाथि पनि परिवारमा सधै आर्थिक अभाव रहँदा मलाई निकै गाह्रो भयो ।"
विवाहपछि परिवारको थप जिम्मेवारी सम्हाल्दै राजनीतिक जीवनलाई पनि अगाडि बढाउन सकेकामा आज शशी निकै गर्व गर्नुहुन्छ । यद्यपि आफ्नो श्रीमान जति नै सहयोगी भए तापनि श्रीमतीप्रति आफ्नो विचार लाद्न खोज्ने बानीको भने उहाँ गुनासो गर्नुहुन्छ । कम्युनिस्ट नेताहरूमा समेत परम्परागत पुरुषवादी सोच अझै यथावत रहेको बताउँदै उहाँ भन्नुहुन्छ, "उनीहरू आफ्नो श्रीमतीले बाहिर आएर काम गर्नुका साथै घरमा पनि राम्रो गृहिणी र असल बुहारीका रूपमा रहिदियोस् भन्ने चाहन्छन् ।"

शशीका श्रीमान निकै सहयोगी थिए । तैपनि कतिपय प्रसङ्गमा शशी स्वयंले आफ्नो श्रीमानलाई विभिन्न जिम्मेवारीबाट टाढै राख्नुभयो । मैले सबै गर्न सक्छु भन्ने भावनाका कारण आफूले नै आफ्नो श्रीमानको बानी बिगारेको र घरभन्दा बढी उहाँलाई बाहिर नै राखेको उहाँ स्वीकार्नुहुन्छ ।
आफ्ना परिवारको आर्थिक अवस्था सुधार्नका लागि शशीले २०४५ सालदेखि ललितपुरमा रहेको फुलचोकी हाई स्कुल र गणेश मेमोरियल हाई स्कुलमा पढाउन थाल्नुभयो । बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात् पार्टीीतिको उहाँको जिम्मेवारी पनि बढ्दै गएकाले उहाँले अध्यापनलाई निरन्तरता दिन सक्नु भएन ।

वि.सं. २०४६ अगाडि महिलाको मुद्दालाई राजनीतिक एजेन्डाभन्दा अलि कम प्राथमिकता दिइने गरेको उहाँको अनुभव छ । महिला सङ्घहरू पनि राजनीतिक पार्टीको भगिनी संस्थाका रूपमा मात्रै स्थापना हुन्थे । साथसाथै राजनीतिमा रुचि नभएका महिलालाई त्यस्ता सङ्घले समेट्ने पनि थिएन ।

तर २०४६ सालपछि भने बिकासे कार्यकर्ताले नै महिला आन्दोलनलाई हाँकेर लगेको देखिन्छ । त्यस्ता सङ्घसंस्थाले पार्टीलेनिकै पहिले ल्याइसकेको एजेन्डालाई विषय बनाएर महिलामा केही ठोस परिवर्तन ल्याउनुभन्दा अन्तर्ररािट्रय दातृसंस्थालाई आकषिर्त पार्ने काम मात्रै गरेको उहाँको भनाइ छ । यसबारेमा आफ्नो विचार राख्दै उहाँ अगाडि भन्नुहुन्छ, "गैरसरकारी संस्थाले समानताका लागि काम गरिरहेको छ । तर मुक्तिविनाको समानताको केही अर्थ छैन ।"
उहाँ आफ्नो पार्टीले महिलाको बिषयमा उदारवादी सोच राखेको बताउनुहुन्छ । केही पुरुषवादी सोच भएका नेताहरूले महिलाको क्षमतालाई दबाउने प्रयत्न गरे तापनि पार्टी भित्र महिलाको योगदानलाई कहिले पनि नकार्न नसक्ने दाबी उहाँ गर्नुहुन्छ । त्यसैगरी महिला आफ्नो साझा मुद्दामा एक भएर आवाज उठाइरहेका छन् भने पार्टीसंरचनाभित्र पनि महिलालाई उचित स्थान दिइनुर्पर्छ भन्ने महसुस हुन थालेको उहाँ बताउनुहुन्छ ।
जन आन्दोलनमा नेपाली महिलाले ठूलो योगदान पुर्‍याएका र देशलाई गणतान्त्रिक बनाउँदा पनि उत्तिकै मेहनत गरेका शशी स्मरण गराउनुहुन्छ ।

nepalimahila.com

राजाको प्रत्यक्ष शासन व्यवस्था रहेको बेलामा उहाँले पुर्‍याउनुभएको योगदान र शान्ति प्रक्रियाको सुरुवातदेखिकै रहेको उहाँको सक्रियताको कदरस्वरूप उहाँ २०६४ साल वैशाख १६ गते स्वस्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त हुनुभएको थियो । एउटा राजनीतिकर्मीका लागि यो एउटा ठूलो उपलब्धि हुनसक्छ । तर उहाँका लागि भने यो कार्यकाल एउटा तीतो अनुभवका रूपमा मात्रै रहन पुग्यो । उहाँले भ्रष्ट कर्मचारीतन्त्रसँंग सम्झौता गर्न मान्नु भएन र उनीहरूले गरेको अनियमितता विरुद्ध आवाज पनि उठाउनुभयो । फलस्वरूप उहाँले मन्त्रालयकै कर्मचारीबाट काममा अवरोध, पर्रदर्शन र धम्की सुन्नुपर्‍यो । त्यसैले आफूले मन्त्रालयमा गएर काम गर्नुभन्दा तल्लो तहमै बसेर जनता र पार्टीका लागि काम गर्नमा उहाँले प्राथमिकता दिन थाल्नुभयो ।

नयाँ संविधानको निर्माणपछि महिला र उनीहरूको नेतृत्वमा पनि सुधार आउने आशा उहाँले गर्नुभएको छ । समाजमा विद्यमान राजनीतिक ब्यवस्था र महिलालाई सधै दबाएर राख्न खोज्ने त्यही व्यवस्थाभित्रका पुरुषहरूले महिलालाई माथि उठ्न नदिने हुनाले यस्ता तत्वविरुद्धको आफ्नो आवाजलाई सधैँ बुलन्द राख्नुपर्ने उहाँको धारणा छ ।

Written by Razen Manandhar

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.